मंगलवारदेखि नेपाल संवत् ११४४ शुरु

सदरलाइन संवाददाता २८ कार्तिक २०८०, मंगलवार १३:५१
 

नेपालगञ्ज : मंगलवारदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । मंगलवार देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

’लिच्छवि कालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छवि काल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने ।


विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलीखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतको अवसरमा विशेष कार्यक्रम हुँदैछ ।
गरिब नागरिकको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको भन्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

यस्तै, सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवार गोबर्द्धन पूजा गरिँदै

२८ कार्तिक २०८०, मंगलवार १३:५१
नेपालगञ्ज : तिहार अन्तर्गत मंगलवार गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन […]