नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका भूकम्पका घाइतेलाई भेटेर उनिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार भेरी अस्पताल पुगेका मन्त्री ज्वालाले घाइतेहरुलाई भेटेर उनिहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै चिकित्सकहरुसँग पनि उपचारका बारेमा जानकारी लिएका थिए ।
सो अवसरमा उनले घाइतेको उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जनाउँदै उपचारमा कुनै पनि कमी हुन नदिन निर्देशन दिए । मन्त्री ज्वालाले घाइतेको उपचारमा भेरी अस्पतालले देखाएको तदारुकता निकै सराहनीय रहेको जनाउँदै घाइतेहरुको अवस्था सामान्य रहेकोमा खुशी व्यक्त गरे ।
उनले भूकम्पपिडितको उद्धारको काम सकिएको र घाइतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको जनाउँदै अब सरकारले राहात र पुनर्निर्माणमा केन्द्रित भएर काम शुरु गरेको बताए ।
भूकम्पमा भत्किएका घरहरुलाई अर्को भूकम्पमा नभत्किनेगरि बनाउने सरकारको लक्ष्य रहेको जनाउँदै त्यसका लागि विभिन्न कार्य भइरहेको मन्त्री ज्वालाले बताए ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, उपचारमा संलग्न चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।