नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् ।
नेपालगञ्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको पहल अघि बढाइएको पर्यटन व्यवसायी समेत रहेका नागरिक सभाका अगुवा श्रीराम सिग्देलले जानकारी दिए ।
नागरिक समाजका अगुवा सिग्देलसहित भोला महत, कृष्णप्रसाद श्रेष्ठ, ईश्वर पोखरेल, डा. सुरेशकुमार कनोडियालगायतको टोलीले व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि जग्गा खोजीका लागि स्थानीय व्यक्तिसँग अन्तरक्रिया गरेका छन् ।
राप्ती किनारमा करिब ५ कठ्ठा जग्गा खरिद गरी शवदाहस्थलसहित अन्य केही संरचना निर्माणको योजनासहित जुटेको सिग्देलले बताए । सिग्देलले भने, ‘स्थानीय तह र दाताको सहयोगमा निर्माण कार्य अघि बढाइनेछ ।’ घाट निर्माणका लागि डुडुवा गाउँपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिकाले समेत सहयोगको आश्वासन दिएको छ । सरकारी तहबाहेक दाताहरूले पनि सहयोगको प्रतिबद्धता जनाएपछि नागरिकस्तरबाट पहल अघि बढाइएको हो । घाटमा ४–५ वटा व्यवस्थित शवदाहस्थल निर्माण गर्ने योजना रहेको छ ।
राप्ती नदी किनारमा अन्तिम संस्कारका लागि पुग्नेहरू घामपानीको समयमा समस्यामा पर्नेगरेका छन् । यसैगरी बाढीको समयमा अन्तिम संस्कारका लागि उपयुक्त स्थान पाउन मुस्किल हुनेगरेको छ । जसकाका कारण नदीको पूर्व र पश्चिमतर्फ नदीको बहावअनुसार अन्तिम संस्कारका लागि व्यवस्थापन गर्ने गरिएको छ ।