नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिन्दुहरुको महानपर्व बडा दसैंँको अवसरमा प्रदेशवासी तथा नेपालीजनमा बडा दशै शुभदिपावली लगायतका पर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजाआजा गर्न पुगेका मुख्यमन्त्री चौधरीले पर्वलाई भब्य र सभ्य भएर मनाउन आग्रह गरे । उनले बडा दशैलगायतका पर्वहरुले समाज भाईचारा र बन्धुत्व कायम हुने विश्वास व्यक्तगरे ।
यसैबीच दसैंँको सातौ दीन दशैघरमा फुलपाती भित्र्याईएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याएर शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।
नेपालगञ्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा विहानको शुभसाईतमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले फुलपाति बढाई गरेका छन् । सो अवसरमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री चौधरी, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललगायत सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थिति रहेको थियो ।