राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो

सदरलाइन संवाददाता ९ आश्विन २०८०, मंगलवार १६:२५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाले राप्तीसोनारी र नरैनापुरको सुरक्षा अवस्थाको बारेमा चासो राखेकी छन् । सुरक्षा अवस्थाबारे चासो राख्दै उनले इलाका प्रहरी कार्यालय भगवानपुरमा सो क्षेत्रका सुरक्षा अधिकारीहरूसँग छलफल गरिन् ।

इप्रका भगवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक राजन रायमाझी तथा मातहतका प्रहरी अधिकृतसँग नमुनाले पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेकी हुन् । सुरक्षा अवस्थाका बारेमा जानकारी लिँदै लुम्बिनी प्रदेशका पुर्वमन्त्री समेत रहेकी नमुनाले प्रहरीको भौतिक अवस्थाका बारेमा चासो राखिन् ।

राप्तीसोनारी गाउँपालिका–६ र ७ तथा नरैनापुर गाउँपालिकाका सबै वडाहरू कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरमा यहाँको सुरक्षा अवस्था, मातहतका प्रहरी कार्यालयको भौतिक अवस्था लगायत विषयमा छलफल भएको सांसद नमुनाले जानकारी दिइन् ।


पक्की सडकको पहुँच पुगेसँगै सडक दुर्घटनासमेत बढ्दै गइरहेकोमा उनले चासो राख्दै सडक दुर्घटना न्यूनीकरणमा प्रहरीले भूमिका खेल्नुपर्ने बताइन् । ‘केही वर्षयता यो क्षेत्रमा पक्की सडक पहुँच पुगेको छ, कतिपय स्थानमा बन्ने क्रममा छन,’ सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले भनिन्, ‘अब यहाँका नागरिकलाई ट्राफिक नियमसम्बन्धी प्रहरीले सचेतना दिनुपर्छ ।’

यस क्षेत्रमा पछिल्ला दिनहरूमा सवारी दुर्घटना र चोरीका घटनाहरू बढिरहेकाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको सांसद नमुनाले बताइन् । नेपालीका ठूला चाडपर्वहरू आउँदै गरेकाले यस क्षेत्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न उनले सुरक्षाकर्मीहरूलाई आग्रह गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालय भगवानपुरको अत्याधुनिक भवन बनेर प्रयोगमा आइसकेको बताउँदै सांसद नमुनाले अब आफू अन्य प्रहरी चौकीको भौतिक संरचना निर्माण गर्नमा केन्द्रित रहने प्रतिबद्धता जनाइन् । छलफलमा इलाका प्रहरी कार्यालय भगवानपुरका साथै त्यस मातहतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका किशोरीलाई ‘एचपिभी’ खोप दिन शुरु

९ आश्विन २०८०, मंगलवार १६:२५
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकामा आज किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाउन सुरु गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको आग्रहमा स्वास्थ्य कार्यालय बाँकेसँगको सहकार्यमा लक्षित किशोरीलाई खोप लगाउन लागिएको हो । कोहलपुर नगरपालिकाले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दुई सय किशोरीलाई लगाउने लक्ष्य राखेको […]