नेपालगञ्ज : बाँकेमा आयुर्वेद तथा प्राकृतिक उपचारमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । कोहलपुर नगरपालिका –११ मा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीको संख्या बढ्दै जान थालेको हो । जिल्लाका विभिन्न पालिकाबाट दैनिक २० देखि ३० जना उपचारका लागि बिरामीहरु आउने गरेका छन् ।
कोहलपुर ११ का रमेश प्रसाद श्रेष्ठ नसा सम्बन्धि रोगबाट पीडित छन् । दुई दशकदेखि नसा दुख्ने समस्याले सताएपछि नेपालमाा मात्र नभई लखनउका विभिन्न अस्पतालसम्म पुगे । जति उपचार गर्दापनि सन्चो नभएपछि प्राकृतिक पद्धतिबाट उपचार थालेपछि आफू निको भएको उनले बताए । बाहिर औषधालयमा निःशुल्क सेवा पाउँदा आफु जस्ता धेरै विपन्न नागरिकलाई राहत मिलेको उनको भनाइ छ ।
मुगुकी मोतिसरा विश्वकर्मालाई पनि हातखुट्टा दुख्ने समस्या छ । उपचारका लागि तराई झरेकी उनी आयुर्वेद अस्पतालको सेवाबाट सन्तुष्ट छन् ।
यस्तै ग्याष्टिकको समस्या भोगिरहेका कोहलपुर–८का गोबर्धन केसीले अस्पतालले प्रदान गर्ने सेवा जेष्ठ नागरिक मैत्री भएको बताए । घरमै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताए । नगरपालिकाको स्वामित्वमा रहेकोले अस्पतालले विभिन्न शिविर, घरदैलो सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो समय अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको चाप बढेको बताउँछन् कोहलपुर आयुर्वेद औषधालयका शाखा प्रमुख उदिप श्रेष्ठ । उनले अस्पतालमा आयुर्वेद सेवालिन धेरै जसो पेट सम्बन्धि समस्या भएका नसा सम्बन्धी समस्या भएका बाथरोगीहरु आउने गरेको बताए ।
रुघाखोकी, नसा, पायल्स फिस्टुलाका रोगिहरु बढी आउने गरेको र यस आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधि निःशुल्क पाइने ओपिडी सेवा, बच्चा जन्मेको ५ महिनासम्मको बच्चालाई सपोर्ट हुने गरि स्तनपाई सेवा कार्यक्रम, जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम त्यस अन्तर्गत रसायन औषधी, इम्युन्युटी पावर बढाउने कार्यक्रम, अनि बाथको समस्या भएकाहरुका लागि पन्चकर्म अन्तर्गत पुर्वक्रम सेवा स्टिमबाथ हातखुट्टा दुख्ने, नसासम्बन्धी समस्या भएका बाथरोगिहरुका लागि दुई प्रकारको सेवा दिईरहेको बताए ।
कोहलपुर आयुर्वेद औषधालयले नगरका विभिन्न वडाहरुमा स्वास्थ शिविरसँगै योग शिविर सञ्चालन गर्दै आएको छ । शिबिर सञ्चालन अनि कोरोनाको कहर शुरु भएदेखि बिरामीहरु खोज्दै यहाँसम्म आउनेको चाप बढेको छ । आयुर्वेद औषधालयमा उपचार गराएका बिरामीहरू सन्तुष्ट छन् । जनशक्ति अभावका कारण उपचार गर्न समस्या छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारले ध्यान दिन जरूरी छ ।