दाङ : दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालबाट दुरविन विधिबाट अप्रेशन सेवा शुरु भएको छ ।
अस्पतालबाट पहिलो पटक गत असार ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ३० वर्षीया चन्द्रकला महराको पित्त थैलीमा रहेको पत्थरीको दुरविन विधिबाट अप्रेशन गरि निकालिएको थियो ।
त्यसैगरी असार १८ गते दोस्रो पटक सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ निवारी ३४ वर्षीया निर्मला विकको पित्त थैलीमा रहेको पत्थरीको दुरविन विधिबाट अप्रेशन गरिएको हो ।
विशेषज्ञ डाक्टर गोवर्धन नेपाल, डा. शुशिल आचार्य, डा. प्रकाश शाहु, एनएस थेसियाका डा.दिपीका सुवेदी र सवनम संग्रौला लगायत स्टाप नर्सको टोलीले अप्रेशन गरेको हो ।
अन्य अस्पतालको तुलनामा राप्ती प्रादेशिक अस्पतालमा केही सहुलियत शुल्कमा अप्रेशन हुने अस्पताल प्रशासनले जनाएको छ । जेठको अन्तिम साता तिर दुरविन विधिबाट अप्रेशन गर्ने मेसिन अस्पतालमा आएपछि असारदेखि सेवा शुरु गरेको अस्पतालले जनाएको छ ।