नेपालगञ्ज : जन्मका आधारमा नागरिकता लिनेको बाँके प्रशासनमा भीड लागेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण शुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको भीड बढ्न थालेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म मानिस पुग्न थालेपछि एक दिनमा सय जनाको मात्र आवेदन लिन थालेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले असार १० गतेबाट जन्मको आधारमा नागरिकता वितरण शुरु गरिएकोमा हालसम्म ४२३ जनालाई नागरिकता वितरण गरिसकिएको बताए ।
प्रजिअ आचार्यका अनुसार अहिले एक दिनमा सय जनालाई मात्र नागरिकता वितरण गर्न सकिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जनशक्तिको अभावले गर्दा सबैलाई नागरिकता दिन नसकिएको जनाउँदै सहजताका लागि अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । टोकन प्रणाली शुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सो बाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकोले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।
लामो समयपछिको प्रतिक्षापछि जन्मको आधारमा वंशजको नागरिकता पाएपछि नेपालगञ्जका युनुस राई निकै खुशी छन् । उनले ढिलै भएपनि सरकारले नागरिकता दिएकोमा गर्व लागिरहेको बताए ।
जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । उनीहरुका करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्ने छ ।
नागरिकता लिन आउनेको घुँइचोअनुरुप सरकारले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही मारमा परेको केही सेवाग्राहीको गुनासो छ ।