दाङ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरु नलाग्ने बताएका छन् । उनले निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई सत्ता नेतृत्व चलाउन जनमत प्राप्त नभएकाले सरकार सञ्चालनका लागि नेकपा (माओवादी केन्द्र) लाई एमालेले सहयोग गरेको बताए ।
प्रेस चौतारी दाङ शाखाले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्ता गठबन्धनको दशदलीय गठबन्धन भत्काउन एमाले नलागी कुशल प्रतिपक्षको भूमिकामा रहने बताए ।
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापनमा दशदलीय सत्ता गठबन्धनले सकारात्मक भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले माओवादी नेतृत्वको सरकारमा एमाले सामेल रहँदा आर्थिक सूचक सकारात्मक देखिए पनि सरकारबाट हटेलगत्तै खराब सूचकाङ्क देखापरेको बताए ।
देशमा देखिएको राजनीतिक अराजकता र सांस्कृतिक अतिवादका नाममा मौलिक संस्कृतिमाथि भइरहेको अतिक्रमणले देशलाई अस्थिरतातर्फ धकेल्दै गएको भन्दै उनले दशदलीय सत्ता गठबन्धनमा एकमत भएमा देश मध्यावधिमा नधकेलिने बताए ।
प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नतिजाले नयाँ पुस्तामा समेत एमालेको लहर बढेको बताए । नेकपा (एमाले) राष्ट्रियताको पक्षमै देखिएकाले बाह्य र आन्तरिक शक्तिको तगारो बन्दै गएको बताए ।