२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

‘गिरिजाबाबु’ को १३औं स्मृति दिवसमा विरामीलाई फलफूल वितरण



नेपालगञ्ज : पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा एक सय ५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

फलफूल वितरण अघि कोइरालाको तस्विरमा माल्यार्पण गरिएको थियो । माल्यार्पण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री एवम् नेपाली काँग्रेस बाँकेका पूर्व पार्टी सभापति गजेन्द्रबहादुर हमालले कोइरालाकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताए । उनले कोइरालाको स्मृति दिवस मनाइरहँदा काँग्रेसबीचको एकता अपरिहार्य रहेको बताए । हमालले काँग्रेसबीचको एकता कायम गर्न सक्नु नै कोइरालाप्रति सच्चा सम्मान र सम्झना हुने पनि उल्लेख गरे ।

पार्टी सभापति गौडेलले मुलुकको शान्ति स्थापनामा गिरिजाबाबुले पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकलाई द्वन्दबाट जोगाउन कोइरालाले गरेको योगदान विश्वमानचित्रमा सदैब उदाहरणीय हुने बताए । कोइरालाले मजदुर आन्दोलनबाट थालेको राजनीतिक यात्रा पार्टी सभापतिसँगै मुलुकको कार्यकारी प्रमुखसम्म पुग्नु आफैंमा एउटा प्रेरणाको स्रोत भएको गौडेलको भनाई छ ।

संबिधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला)ले गिरिजाबाबुको योगदानकै कारण राजतन्त्र अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना भएको बताए । उनले मेलमिलाप, एकता र शान्ति चाहने गिरिजाप्रसाद कोइरालाको जस्तो विचार प्रत्येक काँग्रेसी कार्यकर्ताको मनमनमा हुनुपर्ने बताए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले कोइरालाको स्मृति दिवसमा बाँके काँग्रेसले बिरामीलाई फलफूल वितरण गरेर स्मरण गरेको भन्दै खुशी व्यक्त गरे ।

पार्टी सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको सो कार्यक्रममा पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा काँग्रेस बाँकेका निवर्तमान पार्टी सभापति किरण कोइराला, काँग्रेस नेता हुर्मत न्यौपाने, पार्टी सह–सचिव रेणु सिंह ठाकुर, तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह, फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार
ताजा समाचार