नेपालगञ्ज : नेपालगञ्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको हो ।
वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको बस्नेतले बताए ।
पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको जनस्वास्थ्य निरीक्षक बस्नेतले जानकारी दिए । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।
यसैक्रममा सोमवार नेपालगञ्जका दुई वटा वडाहरुमा कार्यशाला गोष्ठी गरिएका छन् । वडा नम्बर १४ र २१ मा गोष्ठी गरिएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए । वडा नम्बर १४ मा वडा अध्यक्ष एवम् खोप समन्वय समिति संयोजक मजहर अली शाह र वडा नम्बर २१ मा वडा अध्यक्ष एवम् खोप समन्वय समिति संयोजक राजकुमार साहुको अध्यक्षतामा कार्यशाला गरिएको जनस्वास्थ्य निरीक्षक गोरखनाथ योगीले बताए ।
गोष्ठीमा युनिसेफका नवीन सुवेदीले कार्ययोजना निर्माण, कार्यान्वयन र यसको प्रभावकारिताबारे जानकारी गराएका थिए । कार्यशालामा वडा अध्यक्ष, वडा सदस्यहरु, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायत उपस्थित थिए । यसअघि वडा नम्बर ५, ६, ८, १३, १९ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ ।