२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

कर्णाली डिस्टिलरीको फोहोरले स्वास्थ्यमा समस्या



नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा सञ्चालित कर्णाली डिस्टिलरी प्रालिबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा मानव जीवनसँगै कृषि उत्पादनमा समेत प्रतिकूल असर पारेको छ ।

सो फोहोरबाट आउने दुर्गन्ध र फोहोरका कारण डिस्टिलरी आसपासको बस्तीमा बस्न, खान र आवागमन गर्नसमेत समस्या भएको छ । किसानले लगाएको कृषि बालीलाई पनि क्षति गरेको छ । मदिरा उद्योगबाट निस्कने फोहोर सिधै किरण नालामा खसाउँदा सो क्षेत्रको वातावरण नै प्रदूषित बनेको खजुरा गाउँपालिका–४ का स्थानीय तिलकवीर सुनारले बताए ।

डिस्टिलरीको क्यानल सिधा आएर किरण नालामा मिसिएको छ । डिस्टिलरीबाट निस्किने दुर्गन्ध र प्रदूषित पानीले निकै समस्यामा परेको गुनासो पटक–पटक आएको जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले बताइन् ।

किरण नालामा बगाएको फोहोर पानीबाट पशुहरूमा रोग लाग्ने, बिरामी पर्ने गरेको साथै खेतबारीमा लगाएको कुनै पनि अन्नबाली नहुने गरेको खजुरा गाउँपालिका–४ का दीपक थापाले बताए ।

त्यस्तै टाउको दुख्ने समस्या बढी हुने गरेको थापाको भनाइ छ । खजुरा गाउँपालिका क्षेत्रभित्र पर्ने सैनिक, के गाउँ, ए गाउँ, सीतापुर, राधापुर गाउँमा समेत सो फोहोरले असर पुर्याएको छ ।

प्रकाशित मिति : २०७९ फागुन १९ गते शुक्रबार
ताजा समाचार