नेपालगञ्ज : नेपालगञ्जबाट कैलाश मानसरोवर तिर्थ यात्राका लागि माउन्टेन फ्लाइट हुने भएको छ । वेस्टर्न ट्राभल मार्ट नेपालगञ्जको अग्रसरतामा माउन्टेन फ्लाइट हुने भएको हो । यही माघ १६ गते अर्थात ३० जनवरीका दिन नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइटको पहिलो उडान भर्ने निश्चित भएको छ ।
यसका लागि वेस्टर्न ट्राभल मार्ट नेपाल र नेपालको हवाइ क्षेत्रको अग्रणी संस्था बुद्ध एअर बीच सम्झौता भएको छ । मार्टका संयोजक एवम नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले यस उडानले नेपालगञ्ज मात्र नभई पश्चिम नेपालको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिएको बताए ।
’कुनैपनि उडान पहिलो उडानपछि दोश्रो, तेश्रो र नियमित तथा स्थायी उडान हुन जरुरी रहन्छ तर नियमित उडान गर्न ठूलो चुनौती हो भन्ने पाठ नाट्टा बाँके च्याप्टरले यस अघि नेपालगन्ज देखि पोखरा उडान भर्दा अनुभुती गरिएको छ, यद्यपि नेपालगञ्ज–कैलाश मानसरोवर (माउन्टेन फ्लाइट) नियमित उडान भर्न नाट्टा बाँके च्याप्टर लागि रहने छ थाक्ने छैन,’ सिग्देलले भने ’जहाज भरिए उडानहरु निश्चित हुन्छन, कैलाश मानसरोवर हवाई यात्रा एउटा अभियान हो, यो अभियानमा आम विकास प्रेमीहरुको साथ र आशीर्वाद रहनेछ, यस अघि नेपालगञ्ज पोखरा उडान भर्दा साथ र आशिर्वाद दिन छुट्नु भएकाहरु यो अभियानमा साथमा रहने विश्वास गरेका छौं ।’