क्यान्सर अस्पतालमा ‘पोजिटिभ प्रेसर’ आइसीयू कक्ष निर्माण

सदरलाइन संवाददाता २१ पुष २०७९, बिहीबार १४:२८
 

नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधालाई अत्याधुनिक बनाउँदै लगेको छ । सो अस्पतालले पछिल्लो पटक अत्याधुनिक ‘पोजिटिभ प्रेसर’ आइसीयू कक्ष निर्माण गरी सेवा विस्तार गरेको छ ।

आइसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.निरज भट्टराईले बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शैय्याको ‘पोजिटिभ प्रेसर’ आइसीयू सञ्चालनमा ल्याइने बताए ।

उक्त आइसीयू क्यान्सरका बिरामीका लागि मात्रै प्रयोग गरिने कार्यकारी निर्देशक डा.भट्टराईले बताए । उनका अनुसार आइसीयू कक्ष निर्माणको सबै काम पूरा भइसकेकाले दक्ष जनशक्ति व्यवस्था गरेर सञ्चालनमा ल्याइनेछ । डा.मनु भट्टराईको नेतृत्वमा सो आइसीयू सञ्चालन हुने अस्पतालले जनाएको छ ।

आइसीयूका लागि कर्मचारीलाई तालिम दिएपश्चात् सञ्चालनमा आउनेछ । अहिले तयार गरिएको आइसीयू सञ्चालनमा आएको १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ । अस्पतालमा दिनदिनै बिरामीको सङ्ख्या बढ्दै जाँदा दुई जना मेडिकल अधिकृत थप्न पहल भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।


हाल टाउको, घाँटी, मुटु, फोक्सो, रक्तनली सम्बन्धी क्यान्सरको उपचारका साथै मेडिकल अङ्कोलोजी, सिटीस्क्यानको माध्यमबाट गरिने बायोप्सी, तनाव लगायका अन्य समस्याको उपचार पनि अस्पतालमा उपलब्ध रहेको छ । पछिल्लो समयमा पश्चिम नागरिकका लागि क्यान्सर अस्पताल वरदान सावित हुँदै गएको छ ।

अस्पतालको सेवा विस्तारसँगै उपचारका लागि आउने बिरामीको चाप दिन प्रतिदिन बढिरहेको छ । क्यान्सर उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतालका अनुसार पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमा सुलभ र गुणस्तरीय उपचार सेवा पाइरहेका छन् ।

अस्पतालमा नयाँ प्रविधिको प्रयोग बढिरहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.निरज भट्टराईले जानकारी दिए । वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका बिरामी खजुरा आउन थालेका छन् । महायज्ञ गरेर सङ्कलन भएको रकमबाट सञ्चालनमा आएको क्यान्सर अस्पताललाई पछि सरकारीकरण गरेर पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा अस्पतालको नामाकरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका अवैध क्रसर उद्योगमा कडाइ गरिँदै

२१ पुष २०७९, बिहीबार १४:२८
नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो । क्रसर उद्योगले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणीकरण गराएको पत्र र उद्योग नवीकरणसम्बन्धी […]