भेरी अस्पतालमा घुँडाको लिगामेन्ट उपचार

सदरलाइन संवाददाता ९ पुष २०७९, शनिबार १५:०९
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले सहज, सरल र सस्तो शुल्कमा घुँडाको लिगामेन्ट उपचार गर्दै आएको छ । भेरी अस्पतालले सस्तो शुल्कमा घुँडाको लिगामेन्ट उपचार सेवा दिएपछि विरामीलाई उपचारका लागि काठ्माडौँ र भारतको लखनऊ जाने बाध्यता हटेको छ । यो उपचार भेरीमै हुन थालेपछि पश्चिम नेपालका विरामीले ठूलो राहत महशुस गरेका छन् ।

घँुडाको लिगामेन्ट शल्यक्रिया गर्दा काठ्माडौँमा दुई–तीन लाख र नेपालगन्जका निजी अस्पतालमा कम्तिमा दुई लाख रुपैँया खर्च लाग्छ । तर भेरी अस्पतालमा शल्यक्रियाको १० हजार र औषधि तथा परीक्षणको ५०–६० हजार गरि बढिमा ७०–८० हजार रुपैँया खर्च लाग्ने गरेको अस्पतालका बरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काले बताए ।

खड्का नेतृत्व टोलीले दुई सय बढी घुँडाको लिगामेन्ट पुनर्संरचना सम्बन्धि शल्यक्रिया गरिसकेको छ । ‘विभिन्न किसिमका दुर्घटनामा परेर घुँडाको लिगामेन्ट समस्या भएका विरामीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गरिन्छ,’ डा. खड्काले भने । उनले पछिल्लो समय घुँडाको जोर्नी प्रत्यारोपण सम्बन्धि शल्यक्रिया सेवा पनि दिन थालेको बताए ।

काठ्माडौंको ट्रमा सेन्टर र वीरेन्द्र सैनिक अस्पतालका वरिष्ठ चिकित्सकहरुसँग सहकार्य गरेर साउन, २०७५ देखि घँुडाको लिगामेन्ट पुनर्संरचनाका साथै घुडाको जोर्नी प्रत्यारोपण सम्बन्धि शल्यक्रिया सुरु गरेको उनले बताए । ‘काठमाडौंबाट आएका बरिष्ठ चिकित्सकहरुको नेतृत्वमा करिव ३० वटा शल्यक्रिया गरेपछि पछिल्लो समय मेरो नेतृत्वमा शल्यक्रिया भइरहेको छ,’ उनले भने ।


पछिल्ला समय हप्तामा कम्तिमा दुई जनाको लिगामेन्ट पुनर्संरचना सम्बन्धि शल्यक्रिया हुने गरेको उनले बताए । काठमाडौंका सुविधासम्पन्न अस्पतालहरुले दिने सेवा भेरी अस्पतालले दिँदै आएको उनको भनाई छ ।

भेरी अस्पतालमा घुँडाको लिगामेन्ट सम्बन्धि शल्यक्रिया गराएकी ढकारी गाउँपालिका अछामकी १९ वर्षीया सौर्या बुढाले भेरी अस्पतालले जीवनदान दिएको बताइन् । जंगल गएको बेला लडेर दाँया घुँडाको लिगामेन्ट गएपछि उपचारका लागि नेपालगन्जको निजी अस्पताललाई देखाइन् । उक्त अस्पतालले दुई लाख खर्च लाग्ने बताएपछि झस्किएको सौर्याका आफन्त गोरख साउँदले बताए ।

अस्पतालले मागेको रकम तिर्न नसक्ने भएपछि भेरी अस्पतालमा ल्याएको उनले बताए । ‘भेरी अस्पतालका चिकित्सकलाई देखाएको भोलिपल्ट अर्थात १ पुसमा छोरी (सौर्या) को घँुडाको लिगामेन्ट पुनर्संरचना सम्बन्धि शल्यक्रिया भयो,’ उनले भने, ‘शल्यक्रिया भएको तीन दिनमै डिस्चार्ज गरियो । एक वर्षदेखि घुडा सम्बन्धी समस्याले पिरोलिएकी छोरीको जीवनमा खुशी फर्किएको छ ।’

भेरी अस्पतालको उपचार सेवा र चिकित्सकहरुको ब्यवहारबाट उनी सन्तुष्ट छन् । ‘सरकारी अस्पताल भए पनि भेरी अस्पतालको हाडजोर्नी विभागको उपचार सेवा असाध्यै राम्रो लाग्यो,’ उनले भने, ‘राजधानी बाहिरको सरकारी अस्पतालले अत्याधुनिक प्रविधिबाट सहज रुपमा गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने विश्वास लागेको थिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा’ जारी

९ पुष २०७९, शनिबार १५:०९
सुर्खेत : नेपाल पत्रकार महासंघले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा पछि ‘सुर्खेत घोषणा–२०७९’ जारी गर्दै महासंघले सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको हो । ‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता […]