सोमवारदेखि बडा दशैँ शुरु, पहिलो दिन घटस्थापना

सदरलाइन संवाददाता १० आश्विन २०७९, सोमबार १३:३८
 

नेपालगञ्ज : यस वर्षको दशैँ सोमवारदेखि शुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा शुरु हुने गर्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा खाने गरिएको छ ।


आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजैदेखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कन्या माध्यमिक विद्यालयका छात्राहरूलाई निःशुल्क कराँते तालिम

१० आश्विन २०७९, सोमबार १३:३८
नेपालगञ्ज : नेपालगञ्जको सल्यानी बागमा रहेको कन्या माध्यमिक विद्यालयका छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि १ महिने निःशुल्क कराँते तालिम एक प्रदान गरिने भएको छ । तालिमको उदघाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले यस्ता तालिमले समाजमा किशोरीमाथि भइरहेको घटनालाई रोक्न मदतका साथै स्वास्थ्य तन्दुरूस्ती राख्नाका […]