बर्दिया : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन ।
बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका छन । जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए ।
नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए । बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ । बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ ।
५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ । बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा दुई सय ६७ दशमलव ४ मिलीमिटर वर्षा मापन गरिएको छ ।