नेपालगञ्ज : सरकारी अस्पतालको तलव खाने र बाहिर आफ्नो क्लिनिकमा काम गर्ने चिकित्सकलाई कारवाही गर्न खोज्दा पश्चिम नेपालको सबैभन्दा ठूलो र पुरानो भेरी अस्पताल नेपालगञ्जमा विवाद भएको छ ।
भेरी अस्पतालमा हाजिर गरेर बाहिर आफ्नो नीजि क्लिनिकमा काम गर्ने चिकित्सकलाई जिल्ला प्रशासन र अस्पताल विकास समितिले कारवाही अगाडि बढाएपछि नेपाल चिकित्सक संघ प्रतिवादमा उत्रिएपछि विवाद भएको हो ।
गएको असार २० गते अस्पतालका बरिष्ठ सर्जन डा.सुरेशकुमार नाग अस्पताल प्रशासनभित्र रहेको हाजिर रजिष्टरमा एकैपटक असार २९ गतेसम्म ९ दिनको हाजिर गरेको भेटियो । त्यसको तिन दिन पछि जिल्ला प्रशासन कार्यालयको छड्के टोलीले नाग सहित अरु सात जना चिकित्सक र स्वास्थ्यकर्मीले पनि अग्रीम हाजिर गरेको भेटियोे ।
अस्पतालका ३७९ जना कर्मचारीमध्ये २९० जना गयल देखिए । अस्पताल विकास समिति र जिल्ला प्रशासन कार्यालयले चिकित्सकले आफ्नो जिम्मेवारी र उत्तरदायित्व विर्सेर चरम लापरवाही गरेको भन्दै कारवाही प्रक्रिया अगाडि बढाएपछि विवाद बढेको हो ।
अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले कारवाही गर्नुपर्ने व्यक्तिहरुलाई चिकित्सक संघले बचाउन खोजेको भन्दै आपत्ती जानकारी दिए ।
एक साता भन्दा बढी अग्रीम हाजिर गर्ने डा. नाग, फिजिसियन डा. निर्मल शाक्यलगायत सात जना चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाहीबाट जोगाउन नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ ।
संघका सचिव डा.दिनेश चौधरीले प्रशासन र संघले सबै चिकित्सकहरुलाई लान्छना लगाउने गरी कारवाही प्रक्रिया अगाडी बढाएको भन्दै आफ्नो विरोध भएको बताए ।
भेरी अस्पतालभित्रको पछिल्लो विवादले राजनीतिक मोड लिन थालेको छ । यसले सेवाग्राही समेत मारमा परेका छन् ।