नेपालगञ्ज : नेपाली ईस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व ‘ईद–उल–फित्र’ ईद नेपालगञ्जको ईदगाहस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु गरेका छन् ।
पवित्र महिना रमजानको एक महिनाको लामो कठोर उपबास (रोजा) पछि नेपालगञ्जको ईदगाह मस्जिदमा मंगलबार विहान ८ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज पढिएको हो ।
ईस्लामीक धार्मिक पात्रो हिजिरीका अनुसार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अर्कोदिन ईद मनाईने परम्परा भएको मुस्लिम धर्मगुरु तथा सामाजिक सद्भाव तथा अन्तर धार्मिक क्षेत्रीय समितिका सह संयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।
अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्मसंयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन रहेको छ । रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एक आपसमा शुभकामना साटा साट गर्ने चलन रहेको उनको भनाई छ ।
धार्मिक चलन अनुसार सफा नयाँ कपडामा नमाज पढेर शुभकामना साटासाट गरी घरमा रहेको मिठा पक्वान खासगरी सेवाई, जर्दा पुलाउ, दही बडा, फलफुल जस्ता मिठ्ठा परिकार आफु खाने अरुलाई खुवाउने चलन रहेको छ ।
नेपालगञ्जको ईदगाहमा नमाजीहरुसंग स्थानीय निर्वाचनमा बिभिन्न राजनीतिक दलका उम्मेदवारहरु मतमाग्नका लागि पार्टीगत स्टल समेत स्थापना गरेका थिए ।