नेपालगञ्ज : बझाङ जीप दुर्घटनामा मृत्यु भएका विनोद बोहरा नेपाली काँग्रेस बझाङका सभापति खडक बोहराका माइला छोरा भएको खुलेको छ । वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका सभापति बोहराको परिवार सवार सुपप्र ०१९००१ च ००९५ नम्बरको जीप शनिवार राति १२ः४० बजे वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा उनका माइला छोरा २७ वर्षीय विनोद बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । सभापति बोहरा सामान्य घाइते भएका छन् । दुर्घटनामा घाइते भएकी सभापति बोहराकी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ ।
घाइते खडक, उनका कान्छा छोरा पारस तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जीप अनियन्त्रित भएर दुर्घटना भएको बताए ।