अमेरिकी सैन्य कारबाहीमा मारिए आइएसआइएसका नेता

सदरलाइन संवाददाता २० माघ २०७८, बिहीबार १९:३४
 

एजेन्सी : संयुक्त राज्य अमेरिकाका सैनिकको कारबाहीमा मुस्लिम अतिवादी समूह आइएसआइएसका नेता अबु इब्राहिम अल–हासिमी अल कुरेसीको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार साँझ ट्वीट गर्दै आफ्नो निर्देशनमा अमेरिकी सेनाले उत्तर पश्चिम सिरियामा गरेको उक्त कारबाहीमा कुरेसीको मृत्यु भएको जानकारी दिएका छन्।

अमेरिकी सैनिकले उक्त कारबाही बिनाकुनै क्षति सफल बनाएको बाइडेनको भनाइ छ।


एक उच्च अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले अमेरिकी सेनाको कारबाही सुरू हुनासाथ कुरेसीले आफूसँग भएको बम बिस्फोट गरेको उल्लेख गरेको छ। बम बिस्फोटमा उनीसहित उनका परिवार अन्य सदस्यको पनि मृत्यु भएको छ।

अमेरिकी कारबाहीका क्रममा महिला र बालबालिकासहित १३ जनाको मृत्यु भएको बताइएको छ।

दुई दर्जन अमेरिकी कमाण्डोहरूले बिहीबार हेलिकप्टरबाट उक्त कारबाही चलाएका थिए। उनीहरूले कुरेसी बसेको तीन तले घरमा कारबाही केन्द्रित गरेका थिए।

यसअघि सन् २०१९ मा आइएसआइएसका तत्कालीन नेता अबु बक्र अल बग्दादीलाई अमेरिकाले यस्तै कारबाहीमा मारेको थियो। बग्दादीको मृत्युपछि कुरेसीले आइएसआइएसको नेतृत्व सम्हालेका थिए। उनका बारेमा धेरै कुरा सार्वजनिक गरिएको छैन। विश्लेषकहरूले उनको मृत्युले उक्त संगठनलाई गम्भीर धक्का लाग्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालकै पहिलो वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बर्दियामा बन्ने

२० माघ २०७८, बिहीबार १९:३४
बर्दिया : बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनको लागि ओभरहेड ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनको लागि ‘ओभरहेड ब्रिज’ बन्न लागेको यो नेपालको पहिलो योजना हो । प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको […]