२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बैतडीमा हत्याआरोपमा चारजना जेल चलान



बैतडी : बैतडीको सुर्नया गाउँपालिका–४ व्यापारी कमलसिंह महराको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई कारागार चलान गरिएको छ ।

सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिशसिंह महरालाई कारागार चलान गरिएको हो ।

चारै जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

आरोपितमाथि प्रहरीले आफ्नो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेश गरेकोमा अन्तिम फैसला हुन भने बाँकी रहेको छ ।

सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौंमै मृत फेला परेका थिए ।

मृतक महराको टाउको, छाति र शरीरका अन्य भागमा चोट रहेकाले हत्या भएको आशंका गर्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।

घटनापश्चात अनुसन्धानमा गएको निरीक्षक शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ धण्टा नबित्दै समातेको थियो ।

असोज ६ गते राति मदिरासेवन गरि फलामको रडले हिर्काएर महराको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

प्रकाशित मिति : २०७८ कात्तिक १७ गते बुधबार
ताजा समाचार