नेपालगञ्ज : बाँके नेपालगञ्ज–२२ पुरैनीका धर्मु गोडिया चिन्तित अवस्थामा देखिन्छन । उनको यो अवस्था हुनुको कारण गत आईतबारदेखि निरन्तर भएको वर्षातको कारणले धान सखाप पारे पछिको हो । ८ जनाको परिवार रहेको गोडिया परिवारको वर्षभरी खान पुग्ने धान हेर्दा हेर्दै लगातारको हावाहुरीसंगैको पानीले डुबाएर सखाप पारेको छ ।
‘पाकेर काटेको धान उठाउन नपाउदै पानी परेर डुवायो । केही काट्न नपाउदै हावाहुरीले ढलाएर पानीमै डुबायो काटे पनि खती नकाटे पनि खती भयो’– गोडियाले आफ्नो पीडा पोखे । उनले करिव एक विगाह जमिनमा लाएको धान पानीका कारण सखाप भएको बताए । खेतमै उमे्रेर जमरा बनेको धानका बाला देखाउदै भने–‘ नकाटौ बर्षभरी खाउला भनेर गरेको दुख्ख । काटौ यो जमरा जस्तो उम्रेको धान के गरौ ।’
बाँकेमा लगाईएको धानखेतमा यतिबेला पानीले भरिएको छ । किसानहरु आफ्नो मेहनत जोगिन्छ कि भन्दै पानीमै डुबेर भएपनि डुबेको धान काटेर अग्लो ठाउमा सुकाउन ब्यस्त छन् । ‘अलिकती भएपनि केही जोगिन्छकी भनेर पानीमा डुबेको धान ओभानो ठाँउमा सार्दै छु । पानीमै कुहेर गन्हाउन थालेको छ । तैपनि झिनो आशले यो दुख्ख गर्दै छु’– बाँके डुडुवा–४ खालेमसाहका माताप्रसाद कुर्मीले आफ्नो दुखेसो पोखे ।
लागतार ४ दिनसम्म परेको पानीले उनले १३ कठ्ठामा लगाएको धान सबै सखाप पारेको बताए । ‘वर्षभरी खाएर बचेको धान बेच्ने गरिन्थ्यो तर, यो वर्ष के खाने हो ? फलेको धान केही खेतको पानीमा डुवेर उम्रेको छ । केही कुहेर गन्हाएको छ’–उनले भने । कुर्मीकै छिमेकी साईना साईले काटेर खेतमा छाडेको धान कुहेर गन्हाउन थालेको बताईन ।
माथीका गोडिया, कुर्मी र साई त बाँकेका किसानका प्रतिनिधि पात्र मात्र हुन । उनीहरुको जस्तो पीडा जिल्लाका सबै किासनले भोग्नु परेको छ । असोजको अन्तिम सातादेखि परेको पानीका कारण बाँकेका किसानले लगाएको धान सखाप भएको छ । काटेको धान होस वा नकाटेको धान खेतका गह्रामै उम्रिएको तथा कुहेर गन्हाएको अवस्थामा छ ।
जिल्ला कृषि ज्ञान केन्द्र बाँकेका अनुसार करिव १७ हजार ५ सय हेक्टर जमिनको धानखेती पूर्णरुपले डुबेर नष्ट भएको अनुमान गरिएको छ । लगातारको वर्षातको कारण किसानले काटेर खेतमै छाडेको करिव ७ हजार ५ सय हेक्टर जमिनको धान र हावाहुरीका कारण करिव १० हजार हेक्टर जमिनको धान खेतमै ढलेर पानीमा डुबेको कारण नष्ट भएको कृषि ज्ञान केन्द्र बाँकेका बालि विकास अधिकृत शकिल अहमदले जानकारी दिए ।
उनले बाँकेमा ३६ हजार ५सय हेक्टरमा धानखेती गर्ने गरिएको जानकारी दिदै भने–‘ करिब १० प्रतिशत किसानले मात्र हारबेस्ट गरी धान भित्र्याएको अवस्थामा आएको पानीले बाँकेमा धानखेती अत्यन्त प्रभावित बनाएको छ ।’ उनले वर्षात हुनु अघि केन्द्रले बाँकेमा गरेको प्रारम्भिक सर्भेक्षण अनुसार प्रति हेक्टर ४ दशमलभ ५ मेट्रिक टन का दरले उत्पादन हुने आँकलन गरिएकोमा बर्षातपछि काटेको धान पानीमा डुब्दा र नकाटेको धान खेतमा भरिएको पानीले डुवाउदा करिव ६० प्रतिशत भन्दा बढी धान नोक्सान हुने आँकलन गरिएको बताए ।
उनले भने–‘ जिल्लाका आठ वटै पालिकाका कृषि शाखा र ज्ञान केन्द्रले बर्षातले पारेको क्षतिको तथ्याङ्क संकलनको लागि किसानको खेत–खेतमा जाने गरी खटिएका छौ करिव एक साताभित्र यकिन तथ्याङ्क आउन सक्छ ।’