नेपालगन्ज : बर्दिया प्रहरीले म्याद नाघेका तथा लेवल नछापी प्याकिङ्ग गरिएको सामान सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलिले नियमित चेकजाँचको क्रममा भादा पुलमा नेपालगंज देखि गुलरिया तर्फ जाँदै गरेको बा १८ च ११८५ नम्बरको गाडीमा रहेको म्याद नाघेका, लेवल नछापी प्याकिङ्ग गरिएका सामानहरू नियन्त्रणमा लिएको हो ।
सामानहरु संगै गाडी चालक मधुवन नगरपालिका–१ सानोश्री बस्ने ४३ बर्षका मिन बहादुर विसीलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
बर्दिया प्रहरीले नियन्त्रणमा लिएको म्याद नाघेका, लेवल नछापी प्याकिङ्ग गरिएका सामानहरू भएको गाडी र चालक समेतलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँकेसँग समन्वय गरि जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ बर्दियाका प्रतिनिधिको रोहवरमा फ्रुटो स्वादिष्ट पेप्सी जुस ९२ प्याकेट र ३ किलोग्राम छुर्पी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताएका छन् ।
म्याद नाघेका खाद्यान्न सामानहरु परिक्षणको लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँके ल्याईएको बर्दिया प्रहरीले जनाएको छ ।