जानकीमा निर्माण सम्पन्न नहुँदै सडक भत्कियो

सदरलाइन संवाददाता १० भाद्र २०७८, बिहीबार १६:११
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ ।

ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनामै सडक भत्किएको स्थानीय अगुवा दुखीराम लोनियाले बताए । निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सडक गुणस्तरीय निर्माण गर्न आफुहरुले पटक–पटक माग गर्दै आएको उनको भनाई छ ।

सिक्टा सिँचाइ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ । नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको सो सडकमा दैनिक सयौँ ठूला मालबाहक गाडी गुड्छन् । साँघुरो र भत्किएको सडकका कारण दिनहुँ सडक दुर्घटना हुने र ट्राफिक जाम हुने गर्दछ ।

गाउँपालिकाले पहिलो चरणमा गत वर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला र कल्भर्ट निर्माणलगायत काम गर्न करिब आठ करोड खर्च गरेको थियो । दोस्रो चरणमा यस पटक कालोपत्र मात्रै गर्न ठेकेदारसँग चार करोड ६१ लाख ५१ हजार ५७९ मा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणअन्तर्गत २०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर प्रजेश आलेले जानकारी दिए ।


उनले सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक निर्माण गरेपनि केही स्थानमा सडक भत्किने र भासिन पुगेको बताए । ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्न लगाइने उनको भनाई छ । ठेकेदार कम्पनी ‘अमर सिस्ने जेभी’ ले सडक निर्माण गर्ने जिम्मा लिएको छ । गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडकका रुपमा समेत निर्माण कार्य शुरु गरिएको हो ।

गाउँपालिकाको वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताइन् ।

निर्माणाधीन सडक भत्केको र भासिएको स्थानमा अनुगमन गरिएको उल्लेख गर्दै उपाध्यक्ष धितालले सम्झौताअनुसारको गुणस्तरीय सडक निर्माणका लागि ठेकेदार कम्पनीलाई आग्रह गरिएको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एक वर्षमा १५ सय बढीले लिए अंगीकृत नागरिकता

१० भाद्र २०७८, बिहीबार १६:११
नेपालगञ्ज : बाँकेमा पछिल्लो एक वर्षमा साढे एक हजारबढीले अंगीकृत नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा एक हजार ७३ जनाले अंगीकृत नागरिकता पाएका हुन् । तीमध्ये दुई जनाबाहेक सबैले वैवाहिक अंगीकृत नागरिकता पाएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । […]