नेपालगञ्ज : राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरि नाईस नेपालगञ्जले एक असल संस्कारको बिकास गरेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले बताएका छन् ।
नाईस नेपालगञ्जको दोश्रो बार्षिकोत्सब तथा नाईस अवार्ड २०२१ समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर राणाले यस्तो बताएका हुन् । राम्रो काम गर्ने व्यक्ति वा संस्था जो सुकै भए पनि सबैले सहयोग तथा समर्थन गर्नुपर्ने उनले बताए ।
नाईस नेपालगञ्जसँगको साझेदारीका सरसफाई कार्यक्रममा गरिरहेको भन्दै उनले नेपालगञ्ज उपमहानगरपालिकाको सुन्दरताका लागि गरेको सहकार्यको प्रशंसा गरे । नाईसले गर्ने कामहरुमा उपमहानगरपालिकाले सहयोग गर्ने उनले बताए ।
यसैगरी कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नाईसले नाम अनुसारको राम्रो कामको शुरुवात गरेकोमा खुशी लागेको बताए । राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गर्दा उसले थप जिम्मेवारी बोधका साथ काम गर्ने भन्दै अन्य सरोकारवालाहरुले समेत यस्तो कार्यको अनुसरण गर्नुपर्नेमा उनको जोड थियो ।
नाईस नेपालगञ्जका सचिब हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा स्वागत नाईसका सदस्य मुना बिष्टले गरेका थिए । कार्यक्रमको उद्देश्यसँगै नाईस अवार्डका बारेमा जानकारी तथा नाइस अवार्ड २०२१ घोषणा नाईसका अध्यक्ष नमस्कार शाहले गरेसँगै लागुऔषध दुब्र्यसनी बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
नाईसको दोश्रो बार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका मेयर डा धवल शम्शेर राणा, अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रकाश मेडिकल हलका प्रमुख फिजिसियन डा. प्रकाश नागले खादा, सम्मान पत्र, ट्रफि तथा नगद १० हजार सहित सम्मान गरिएको थियो ।
नाईस नेपालगञ्जका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, अतिथिहरु बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी नायब उपक्षिक मधु सुधन न्यौपाने, प्रकाश मेडिकल हलका प्रमुख फिजिसियन डा. प्रकाश नाग, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, रक्षक सेक्युरिटिजका प्रमुख जय नारायण शाह, सन नेपाल लाईफ इन्सोरेन्सका प्रबन्धक कमल शाही, हरित अभियन्ता हेमन्तराम काफ्ले, गैससस महासँघ बाँकेका सदस्य लोक बहादुर परियार लगायतको उपस्थिती रहेको थियो । बार्षिकोत्सबका अवसरमा नाईस अवार्डमा सहकार्य गर्ने डा प्रकाश नागलाई सम्मान पत्रद्धारा सम्मानित गरिएको छ ।