नेपालगञ्ज : बाँकेको नरैनापुर गाउपालिकाले कृषि क्षेत्रलाई प्राथामिकतामा राख्दै कृषिलाई व्यवसायिक पेशा बनाउने कृषकलाई वार्षिक उत्पादन र कारोबारका आधारमा मासिक ५ सय रुपैयाका दरले ‘कृषक पेन्सन’को कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नरैनापुर गाउपालिकालाई कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउने उदेश्यले आगामी आर्थिक वर्षबाट लागू हुने गरी गाउपालिकाले पालिकाका १ हजार किसानलाई वार्षिक उत्पादन र कारोबारका आधारमा मासिक ५ सय ‘कृषक पेन्सन’को व्यवस्था गर्ने भएको हो ।
‘नरैनापुर गाउपालिका परम्परागत खेती प्रणालीमा आधारित भएर कृषि पेशालाई अंगाल्दै आएकोले यहाँका किसानलाई आधुनिक संगै नगदे बालि उत्पादनको लागि प्रोत्साहन गर्नको लागि प्रति किसान ५ सयका दरले कृषक पेन्सन कार्यक्रम कार्यविधि बनाएर मात्रै सुरु गर्ने योजना बनाएर नीति तथा कार्यक्रममा ल्याएका हौ’–पालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले भने ।
नरैनापुरमा धान, गहुँ, तोरी, दलहन जन्यमा चना, रहर मसुरोको परम्परागत प्रणालीबाट खेती हुँदै आएको छ । नरैनापुरका किसानलाई नगदे तथा आधुनिक खेती प्रणालीसंग जोड्दै उनीहरुलाई व्यावसायिक बनाउन मासिक ५ सयका दरले ‘कृषक पेन्सन’ कार्यक्रमको सञ्चालन कार्यविधि बनाएर मात्रै सुरुगर्ने योजना रहेको कृषि शाखा प्रमुख भण्डारीले बताए ।
‘आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रममा नरैनापुर गाउपालिकाले पालिकाका किसानलाई कृषक पेन्सन कार्यक्रममा समेटेको हो । यो पालिकाको महत्वाकाक्षी योजना मध्येको एक हो’– उनले भने । उनले पालिकाले १ वडा १ सम्भाव्य बालि कार्यक्रम अन्र्तगत ६ वडा वडालाई स्मार्ट कृषि वडा बनाउने र फलफुलमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना रहेको बताए । उनले १० फलफुलको बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गरिएको बताए ।
शाखा प्रमुख भण्डारीले पालिकाका १ सय जना अगुवा कृषक पहिचान गरि ‘अध्यक्षसंग अगुवा कृषक’ कार्यक्रम सन्चालन गर्नुका साथै नयाँ बजेटमा कृषिलाई आधुनिकतातर्फ लैजाने कार्यक्रमहरु समेत समेटिएको पालिकाका बताए । उनले कोरोना संक्रमणको लागि गर्तवर्ष र चालु आर्थिक वर्षमा कृषि प्रसार अन्तरगतका कार्यक्रम अवलोकन भ्रमण, तालिम, गोष्ठी र सेमिनार जस्ता कार्यक्रम हुन नसकेको जानकारी दिए ।
बाँकेको नरैनापुर सुघम क्षेत्रको दुर्घम परिचय बनाएको अवस्थामा उत्पादनले बजार मूल्य नपाउदा किसानहरु आफुलाई आवश्यक पर्ने मात्र उत्पादन गर्ने र बाँकी जमिन बाँझै छाड्ने गरेकोमा गतवर्ष बाटो बिद्युत एकै पटक पुगेपछि किसानलाई पनि कृषि उपजको बिक्रि बितरणको लागि सहज हुँदा खेतीतर्फ आकर्षण बढेको स्थानीय सोहन यादव बताउछन् । उनले कृषि क्षेत्रलाई सुदृढ बनाउनको लागि सिचाई र बजारिकरणको लागि गाउपालिकाले ठोस योजना बनाउनु पर्ने सुझाव दिए ।
नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नरैनापुरलाई कृषि क्षेत्रमा आत्मनिर्भर गाउपालिका बनाउनको लागि विभिन्न पहल गरिएको बताए । उनले किसानलाई प्रविधिसंग जोड्ने तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको बताए ।
‘पालिकाले आगामी आर्थिक बर्षका लागि कृषिमा १ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याएको छ । सो बजेट तथा कार्यक्रम अन्तर्गत ब्यवसायिक किसानः नरैनापुरको शान’ अभियान सञ्चालनका लागि कृषकलाई आधुनिक यन्त्र औजार, मल विउविजन एवम् बजारीकरणमा एक लाखसम्मको नगद र वस्तुगत सहयोग लगायतका कार्यक्रम पालिकाले नीति बनाएको छ’– अध्यक्ष शाहले भने । राजधानी दैनिकबाट