२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

प्राधिकरणको लापरवाहीले नदइगाउँका किसान तनावमा



नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण नेपालगञ्ज उपमहानगरपालिका–१७ नदइगाउँका डेढ सय बढी किसान तनावमा परेका छन् । तीन साता अघि आएको हावाहुरीले विद्युतको पोल ढालेपछि मर्मतको लागि गएको प्राधिकरणको टोलीले हाइटेन्सन लाइन जोडेपनि कृषि लाइन काटिदिएको स्थानीयको गुनासो छ ।

स्थानीय शेरबहादुर खटिकको जग्गाबाट उक्त लाइन विस्तार भएको थियो । खटिकले आफ्नो जग्गाबाट लाइन नदिने बताएपछि स्थानीयबीच विवाद बढेको थियो । पहिलेदेखि नै त्यही लाइनबाट आफुहरुले वत्ति लगेको स्थानीय बताउँछन् ।

लाइन काट्नुको कारणबारे वडा कार्यालयले विद्युत प्राधिकरणसँग पनि जवाफ माग गरेको छ । मनोमानी तरिकाबाट प्राधिकरणले लाइन काटेको भन्दै वडाअध्यक्ष अजय पाठक पनि प्राधिकरणप्रति रुष्ट हुनुभएको छ ।

विद्युत प्राधिकरणले भने स्थानीयबीचको विवादले लाइन नजोडिएको बताएको दावी गरेको छ । प्राधिकरणका नेपालगञ्ज प्रमुख लखनलाल मल्लिकले लाइन जोड्न आफुहरु तयार भएपनि स्थानीयबीचको विवाद मिल्नु पर्ने बताए ।

उक्त कृषि लाइनबाट पन्ध्रवटा कृषि मिटर संचालनमा थिए । अहिले लाइन नहुँदा डेढ सयबढी किसान सिंचाइँ सुविधाबाट बञ्चित भएका छन् ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहीबार
ताजा समाचार