नेपालगञ्ज : बाँके प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरको ५६ पुडिया र ४१ हजार ५ सय नगदसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ३ जना महिलासहित ४ जनालाई गत शुक्रबार दिउँसो साढे तीन बजेको समयमा नेपालगञ्ज–२ न्युरोडबाट उनीहरुलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा पर्नेहरुमा खजुरा गाउँपालिका वडानं ८ बस्ने ३३ वर्षिया बिबा शाही, खजुरा ४ बस्ने ३० वर्षिया गंगा खड्का, नेपालगञ्ज–९ बस्ने ३५ वर्षिय राजेश खटिक र बर्दियाको राजापुर नगरपालिका वडा नं ४ बस्ने २१ वर्षिया पुजा परियार रहेका छन् ।
गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके तथा लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २ सय मिलिग्राम) ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले आइतबार जनाएको छ ।
उनीहरुबाट प्रहरीले ४१ हजार ५ सय नगद समेत बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।