नेपालगञ्ज : प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबले बाँकेका बिभिन्न पाँचवटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न सहयोगी सामाग्री वितरण गरेको छ ।
क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले क्लबले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका युवा महिलालाई व्यवसायका लागि सामाग्री वितरण गरिएकोे जानकारी दिए ।
‘विपन्न अवस्थाका ती महिलालाई व्यवसाय सञ्चालन गर्नका लागि किराना पसल, कस्मेटिक पसल, ब्युटिपार्लर र टेलारिंग पसल सञ्चालन गर्ने सामग्री वितरण गरिएको छ’– उनले भने ।
सो परियोजना अन्तरगत बैजनाथ, खजुरा, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका ३४ जना स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका ३४ जना युवा महिलालाई व्यवसाय सञ्चालन गर्नका लागि सामग्री वितरण शुरु गरिएको क्लबकका अध्यक्ष चौधरीले बताए ।
सो परियोजना अन्तर्गत १६ जना महिलालाइ किराना सामग्री, १४ जना महिलालाई टेलारिंग सामग्री, ३ जनालाई कस्मेटिक पसलको सामाग्री र १ जनालाई ब्युटिपार्लरको सामाग्री हस्तान्तरण गरिने परियोजनाका संयोजक अनुप बर्माले जानकारी दिए ।
कोभिडका कारण आर्थिक अवस्था झनै कमजोर भएको बेला क्लबले प्रदान गरेको सामाग्रीबाट व्यवसाय गरेर पेट पाल्न सहज हुने सामाग्री पाउने महिलाहरुले जनाएका छन् । क्लबका अध्यक्ष राजेन्द्र चौधरी, कार्यकारी निर्देशक रवि तुलाधर र परियोजनाका संयोजक अनुप बर्मा लगायतलले सामाग्री वितरणको शुभारम्भ गरेका हुन ।