नेपालगञ्ज : बाँकेमा पाटेबाघको छालासहित ४ जना पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर १ च्यामाबाट सुर्खेतको विरेन्द्रनगर ११ का ५० वर्षीय गंग बहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेखको भगवतीमाई ४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला ४ का ३८ वर्षीय जयलाल नेपाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा अबैध बाघको छाला र हड्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा जाँच गर्ने क्रममा चिसापानीबाट कोहलपुरतर्फ संगसंगै पैदल आइरहेका उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई रोकी तलासी लिँदा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको छाला १ थान र गंग बहादुर खत्रीले हातमा समातेको अवस्थामा प्लाष्टिकको बोराभित्र बाघको जस्तो देखिने हड्डी २ किलो ५ सय ग्राम फेला पारी बरामद गरेर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा पठाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाखदेखि २५ लाखसम्म जरिवाना र १ वर्ष देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।