नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष पनि चलिरहेको छ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर (मियाँपुर्वा) मा मंगलवारदेखि चलेको मेला ७ दिनसम्म सञ्चालन हुनेछ ।
गंगापुरमा रहेको हजरत खलिफा नुर अहमद शाहको मजारमा डेढ सय बर्षदेखि हरेक बर्ष मेला आयोजना हुँदै आएको छ । १८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।
मेलाको पहिलो दिन मंगलबार राति १० बजे गुस्ल, दोस्रो दिन बुधबार विहान १० बजे कुल, दोस्रो दिन नै बुधबार राति ७ बजेदेखि राति १० बजेसम्म गागरसंगै कवाली र राति १० बजेदेखि भारतीय कलाकारहरुको साथ नातिया मुशायरा लगायतका कार्यक्रम गरिएको छ ।
मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा तथा जादु खेल लगायत हुने गरेको छ । मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेका नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको अध्यक्ष शाहले बताउनुभयो । खलिफा नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ ।