नेपालगञ्ज : अवैध चोरी तस्करीविरुद्ध बाँके प्रहरीले सक्रियता बढाएको छ । भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको वडा प्रहरी कार्यालयका इञ्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए ।
डुडुवा गाउँपालिका वडा नं. २ बेतहनी नजिकै भारतबाट अबैधरुपमा भन्सार छली मालसामानहरु ल्याईरहेका छन् भन्ने सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोली चिनी, युरियामल र सूति बरामद गरेको हो । तस्करहरुले भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।
इञ्चार्ज खड्काका अनुसार, ९ सय ४ किलो चिनी, ८ सय २ केजी युरिया मल, १९९ पोका सुपर वापर सूर्ति र खलिल सूर्ति ५० पोका बरामद गरेको छ । उक्त सामानको मूल्य १ लाख ३१ हजार ७ सय ६० बराबरको रहेको प्रहरीले जनाएको छ ।
मुख्य नाका छाडेर तस्करहरुले अन्य नाका प्रयोग गर्न थालेपछि त्यसतर्फ बाँके प्रहरी सक्रिय भएको एसपी ओमबहादुर रानाले बताए । खुल्ला सिमानाले गर्दा तस्करीको चाप अन्य नाकामा बढेपछि बाँके प्रहरीको सक्रियता पनि बढेको हो ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको एसपी रानाले जानकारी दिए ।