नेपालगञ्ज : करीब दुई करोडमा बहुमूल्य नागमणि बेचेर ठगी गरेको आरोपमा बाँकेमा तीन जना पक्राउ परेका छन् । १ करोड ८९ लाख ५० हजार रुपैयाँमा नागमणि बेच्ने दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहोरा पक्राउ परेका हुन् ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरलाई नागमणि बेच्दै गर्दा बाँके प्रहरीले तीनै जनालाई नेपालगञ्ज १ बाट ४० लाख नगदसहित पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
बाँके प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार उनीहरुले घिमिरेलाई नागमणिको महत्वका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने र सुखशान्ति समृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।
यस्तै प्रहरीले मंगलवार सार्वजनिक गरेकोमा तीन किलो अफिम, २२ ग्राम ब्राउन सुगर, रेडपाण्डाको छाला र नेकपा विप्लव माओवादीका कार्यकर्ता रहेका छन् ।