डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष ०७७/०७८ को प्रथम चौमासिकअन्तर्गत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो ।
चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा शुक्रवारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का जेष्ठ नागरिक बदलु शर्मालाई भत्ता वापतको रकम हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरे ।
सो अवसरमा बोल्दै उनले गाउँपालिकाले विगतदेखिनै जेष्ठ नागरिकको सम्मान गर्दै घरघरमा पुगेर रकम वितरण गर्दै आएको र अहिले चाडपर्व र कोरोना संक्रमणको महामारीका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्नमा यो भत्ताले राहत दिने विश्वास व्यक्त गरे ।
आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफनै स्रोतबाट उपलब्ध गराएको भन्दै अध्यक्ष चौधरीले जेष्ठ नागरिकको पूर्णरुपमा निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी दिए ।
गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर भत्ता वितरण गरिरहेको छ । प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला, विधवा गरि तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।