नेपालगञ्ज : यस वर्ष पहिलो पटक तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । देउसी भैलो खेल्दा भीडभाड बढि हुने भएको भन्दै यो पटक देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै यो पटक देउसी भैलो नखेल्न अनुरोध गरेको छ । प्रशासनले निर्णयबिरुद्ध देउसी भैलो खेलेको पाइएमा कारवाही गर्नेसमेत चेतावनी दिएको छ ।
साथै दशैं अवसरमा गरिने शुभकामना आदानप्रदान कार्यक्रममा समेत रोक लगाइएको छ । यस्तै कुनै पनि राजनीतिक दल, संघ संस्था भेला भइ गरिने क्रियाकलापमा समेत रोक लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।
चाडपर्वका अवसर पारेर कुनै राजनीतिक दल, संघ, संस्था, समूह तथा संजालहरुले भेला भइ गरिने शुभकामना आदानप्रदान, देउसी भैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
प्रशासनले जारी गरिएका निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिएको छ ।