सल्यान : जंगलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार बिहान जिल्लाका शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा बेवारिसे अवस्थामा २८ दिने बच्चाको आमासहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।
पक्राउ पर्नेमा शारदा नगरपालिका–३ की आमा ३५ वर्षीया शान्ति परियार र शारदा नगरपालिका–२ पानिखोलाको अन्दाजी ३८ वर्षका दानबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए ।
जंगलमा बच्चा फालेको १२ घण्टापछि २८ दिने बालकको उद्धार गर्नुका साथै बच्चा जंगलमा छोड्ने दुई जनालाई पक्राउ गरिएको उनले बताए । रोजगारीको सिलसिलामा भारतको उत्तराखण्डमा उनीहरुबीच अवैध सम्पर्कबाट बच्चा जन्मिएको र घर पुग्दा बच्चा नलैजाने दुवैको सल्लाहबमोजिम बाटोमै पर्ने जंगलमा छाडेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुष विवाहित भएको र महिलाको सम्बन्धविच्छेद भइसकेको प्रहरीले जनाएको छ ।