नेपालगञ्ज : ससुरालीमा जग्गा खरिदका लागि राखिएको नगद हात पार्न बाँकेमा एक ब्यक्तिले नाबालक सालाको अपहरण गरेका छन् । प्रहरीले अपहरित बालकको सकुशल उद्धार गरि भिनाजुलाई पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ ।
भदौ ९ गते बाँकेको खजुरा गाउँपालिका ५ उढरापुरको रजनवा गाउँमा मोहर्रमको रमाईलो हेर्न पुगेका १३ वर्षीय इसहार जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगञ्ज १६ जयसपुरका २७ वर्षीय कल्लु भन्ने कलिम खाँले अपहरण गरि नेपालगञ्जस्थित घरमा बन्धक बनाई १० लाख रुपैयाँ फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय बाँकेमा अभियुक्त खाँलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमवहादुर रानाले भे ४ प २३४४ नम्बरको सुजुकी मोटसाईकलमा बालकलाई उढरापुरबाट नेपालगञ्जको जयसपुर पुर्याइएको जानकारी दिए ।
जग्गा खरिदका लागि ससुराले ४ लाख ८५ हजार रुपैयाँ नगद घरमा राखेको अभियुक्त कल्लुले थाह पाएपछि सालाको अपहरण गरेका हुन् ।
अपहरणपछि बालकलाई दुईदिनसम्म जयसपुरस्थित घरमै राखेको र पछि अरुले थाह पाएको र प्रहरीले खोजतलाशलाई तिव्रता पारेपछि बालकलाई भदौ ११ गते जानकी गाउँपालिका ५ बुढियागाउँस्थित बालकको फुपुको घरमा छोडिएको प्रहरीले जनाएको छ ।