नेपालगञ्ज : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज शुक्रवार नाचगान र पूजा उपासना गरेर मनाईँदैछ । शुक्रवार व्रत बसेर शिव पार्वतीको पूजा आराधना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
बिहीवार राति मिठा एवं पोषिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु शुक्रवार बिहानै व्रत बसेर शिवालयमा गएर पूजाआजा गर्दछन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता पीर मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ ।
तर, यो वर्ष कोरोना भाइरसको महामारीका कारण देशभरका मठमन्दिर र शिवालय बन्द भएपछि महिलाहरुले घरमै बसेर पूजाआजा गरिरहेका छन् ।