सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर मात्रै ७३ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार गत वर्षको साउनदेखि यो असार मसान्त सममामा साना ठूला गरी जिल्लामा १ सय ९१ वटा सवारी दुर्घटना हुँदा ७३ जनाले ज्यान गुमाएका हुन ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरिक्षक पबिन्द्र बमले बाँकेमा गत वर्ष भएका सडक दुर्घटनामा परेर २८० जना घाइते भएको र ती मध्ये १५८ जना भने गम्भीर घाइते भएको जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार जिल्लामा सवारी दुर्घटनामा पर्ने सवारीको साधनको प्रकारमा भने मोटरसाइकल सबैभन्दा अगाडि छ । एक बर्षको अवधिमा १ सय ३० वटा मोटरसाईकल दुर्घटना भएका छन् । त्यसैगरी ट्रक, ट्याङ्कर सम्वन्धि ३३ वटा, टिप्पर ४ र जिप, कार, बस, माईक्रोबस लगायत सम्वन्धित २४ वटा सडक दुर्घटना भएका छन् ।
ट्राफिक प्रहरीको तथ्याङ्कमा जिल्लामा भएका सवारी दुर्घटना मध्ये सबैभन्दा बढी पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत सडक खण्डमा भएका छन् । यी सडकमा कूल १२२ वटा दुर्घटना भएको तथ्याङ्क रहेको निरीक्षक बमले बताए ।
उनले दुर्घटनाको दर बढेपछि ट्राफिक प्रहरीले सडक सुरक्षालाई ध्यानमा राखेर जिल्लाका विभिन्न ८३ स्थानमा सडक चेतनाबोर्ड राखेको छ । यसबीचमा २५७ जना सवारी चालकको राजमार्गमै शिविर राखेर स्वास्थ्य परिक्षण गरिएको र २३ हजार २ सय ८३ जना विद्यार्थी, सर्वसाधरण लाई ट्राफिक चेतनासम्बन्धित कक्षा सञ्चालन गरिएको छ ।सडक सुरक्षाका लागि लेन अनुशासन, मापसे जाँच, जथाभावि पार्किङ्ग गरिएका सवारी साधनमा व्हील लक गर्नेलगायतको काम पनि शुरु गरिएको निरिक्षक बमले बताए ।
सुरक्षाका लागि गरिएका कारबाहीबाट राजस्व समेत जम्मा भएको छ । एक बर्षको अवधिमा कूल २३ हजार ६ सय ६३ वटा सवारी साधनलाई कारवाही गरिएको र त्यसबाट १ करोड २९ लाख ६९ हजार रुपैंया राजस्व पनि संकलन भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।