सदरलाइनडटकम,
बर्दिया : बर्दियाको ठाकुरबाबास्थित क्वारेन्टाइनमा रहेका एक युवकले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय भुरिगाउँका अनुसार अछाम बन्निगढी गाउँपालिका घर भई ठाकुरबाबा ४ सैनवारमा आफन्त कहाँ आएका रामबहादुर साउँदले आइतवार राति क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।
युवक करीव दस दिनअघि भारतको राजस्थानबाट महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्त कहाँ आएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ४ दिनअघि क्वारेन्टाइन लगेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले उनको आइतवार दिउँसो पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भेरी अस्पताल नेपालगञ्जमा पठाइएकोले साँझसम्म रिपोर्ट आउने बताए । रिपोर्ट नआउँदै उनले आत्महत्या गरेका हुन् । उनी डिप्रेशनको बिरामी रहेको बताइएको छ ।


