सदरलाइनडटकम,
नेपालगञ्ज : छैठौ अन्तराष्ट्रिय योग दिवस बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । ‘योग घरमा योग परिवारमा’ भन्ने मुलनाराका साथ बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जको आयोजनामा छैठौ अन्तराष्ट्रिय योग दिवस मनाईएको हो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तवले योगलाई साधान बनाउन सके मात्र पनि विभिन्न खालका रोगमाथि सजिलै विजयी हुन सकिने धारणा राखे । उनले नेपालको अर्घाखाँचीमा जम्मेका मर्हिषी पतञ्जलीले अन्वेषण र सुरुवात गरेको योग अहिले विश्वले आफ्नो साधनाको रुपमा लिएर चर्चित बनाएको उल्लेख गर्दै योगलाई व्यवहारमा उतार्न आग्रह गरे ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले योगले मानिसलाई स्वस्थ्य र निरोगी बनाउनुको साथै नियममा बाध्ने भएकोले यसलाई अध्यात्म र बिज्ञानबीचको सेतुको रुपमा लिन सकिने बताए ।
सो अवसरमा बरिष्ठ आयुर्वेद विज्ञ डा बुद्धि प्रकास रेग्मीले आयुर्वेद र योगलाई साथसाथै लैजादै यसको संम्बद्र्धन र संरक्षणको लागि राज्यले विशेष पहल गर्नुपर्ने धारणा राखे । उनले पछिल्लो समयमा आयुर्वेद र योगको महत्व बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै घरघरमा योग र आयुर्वेदको पहुँच पुराउनु पर्ने सुझाव दिए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका प्रमुख डा. अनिलकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा. सन्तोष शर्मा, पतन्जली योग समिति बाँकेका अध्यक्ष हरपाल सिंह, योग प्रशिक्षक गिरिराज शर्मा, स्थानीय बुद्धिजिबी बेदप्रकाश आचार्यलगायतले योगलाई जीवनसंग जोडेर विकास गर्नु पर्ने धारण राखेको कार्यक्रमको सहजिकरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका कविराज निरिक्षक बसन्त पौडेलले गरेका थिए ।