२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

ईदको नमाज घरमै पढेर ईद मनाउन आग्रह



सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँके निर्बाचन क्षेत्र नं. २ का संघिय सांसद तथा पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले कोभिड–१९ को महामारीका वीचमा ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको नमाज घरमै पढेर मनाउन आग्रह गरेका छन् । यस अघि नयाँ कपडामा सजिएर ईदगाह मस्जिदमा जम्मा भई सामुहिक नमाज पढेर मनाईने चलन थियो ।

उनले कोभिड–१९ को महामारीबाट जोगिनको लागि एक महिना लामो रमजानको उपवास तथा अन्य धार्मिक कार्य घरमै सम्पन्न गरेको स्मरण गराउदै ईदको नमाज पनि महामारीका कारण यस पटक मुस्लिम धर्म गुरुहरु,मुफ्तिहरुको निर्णय अनुसार ईदको नमाजको सट्टा चास्त वा नफिलको नमाज आ–आफ्नै घरमा पढ्न आग्रह गरेका हुन ।

उनले ईदको शुभकामना दिनको लागि सामाजिक दुरी कायम गरेर एक अर्कालाई बधाई आदान प्रदान गर्न अनुरोध समेत गर्दै सबैले मिलेर लकडाउनको पालना गरी सबै देशवासिलाई ईदको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन ।

उनले यस अघि बाँकेका कोबिड–१९ बिरुद्धको अभियानको फ्रन्टलाईनमा खटिने जनशक्तिलाई एन–९५ मास्क, गुणस्तरिय सेनिटाइजर र ग्लोब्स बितरण उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : २०७७ जेठ १२ गते सोमबार
ताजा समाचार