सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा शुक्रबार एकैदिनमा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा संक्रमितको संख्या ३० पुगेको छ । यसले संक्रमितको संख्या अझै बढ्न सक्ने संकेत दिएको छ ।
उदयपुरको मस्जिदमा आश्रय लिएर बसेका १२ जना भारतीय र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै १६ बाट बढेर ३० पुगेको हो । त्रियुगा नगरपालिका–३ भुल्केमा रकेको एक मस्जिदमा बसेका भारतीय नागरिकमा कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनीहरु मध्ये १२ जनाको कोरोना पोजेटिभ पाइएको थियो ।
मस्जिदमा ठूलो संख्यामा मानिसहरु बसेको सूचनाका आधारमा सुरक्षाकर्मीसहितको टोलीले मस्जिदमा पुगेर मंगलबार स्वाब संकलन गरेको थियो । उनीहरुको स्वाबको परीक्षण कोशी अञ्चल अस्पताल विराटनगरमा गरिदा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
शुक्रबार नै चितवनमा २ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् । उनीहरु बेलायतबाट आएका थिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका सबै संक्रमित पुरुष भएको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनुपर्ने देखिएको बताए ।