सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ कोरोना भाईरसका संक्रमित बिरामीको उपचारमा प्रयोगका लागि पूर्वमन्त्री मोहम्द इस्तियाक राईले भेरी अस्पताललाई ईरोशन बक्स (हेड बक्स) उपलब्ध गराएका छन् । मंगलबार एक कार्यक्रमका बीच भेरी अस्पताल इर्मेजेन्सी वार्डका इन्चार्ज डा. पारश पाण्डेलाई ६ थान ईरोशन बक्स उपलब्ध गराईएको हो ।
कोरोना लागेका वा शकांस्पद विरामीको उपचारमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि सो ईरोशन बक्सले सुरक्षा प्रदान गर्ने उद्देश्यले पूर्वमन्त्री राईको ब्यक्तिगत पहलमा उपलब्धता गरिएको हो । यसअघी उनले ४ वटा ईरोशन बक्स नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताललाई उपलब्ध गराएका थिए ।
ईरोशनबक्स (हेडबक्स)ले उपचारमा खटिने चिकित्सक, नजिकै रहेका विरामीको सुरक्षामा सघाउ पुर्याउने डाक्टर पाण्डेले बताए । डा.पाण्डेका अनुसार यस्तो उपकरणले डाक्टर र बिरामीको वरपर रहेका अन्य बिरामी समेतको सुरक्षा गर्ने र यो पनि एक प्रकारको पिपिई नै हो ।
नेपालमा पिपिईको अभाब रहेको बेला नेपालगञ्जमै बनाएको सिसाको ईरोशनबक्स पूर्वमन्त्री राईको आफ्नो पहलमा नेपालगञ्जमै बनाएको र अझै यस्ता उपकरणहरु निर्माण गर्दै जाने र बाँकेमा रहेका अस्पतालहरुलाई प्रदान गर्ने योजना रहेको समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राईले बताए ।
उनले चिकित्सकहरुको सुरक्षाका लागि उपकरण प्रदान गरिएको र आगामी दिनमा पनि आबस्यक उपकरण पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । यसअघि पनि पूर्वमन्त्री राईको पहलमा बाँकेका ४७ वटा एम्वुलेन्स चालकहरुलाई पीपीइ सेट उपलब्ध गराइएको थियो ।