कोरोनाले भारतमा तेस्रो व्यक्तिको मृत्यु, ताजमहल बन्द

४ चैत्र २०७६, मंगलवार १३:५५
 

सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा थप एक जनाको ज्यान गएको छ । महाराष्ट्रमा ६४ वर्षीय वृद्धको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
यसअघि सोमवार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको ज्यान गएको थियो । नेपाल रहेको सार्कका आठ सदस्य देशमा अहिलेसम्म तीन सय ८५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।
यसैबीच भारतले कोरोना भाइरसको सङ्क्रमण बढेपछि ताजमहल बन्द गर्ने घोषणा गरेको छ । दैनिक ७० हजार मानिस पुग्ने गरेको ताजमहलमा कोरोना फैलिने जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।
भारतमा मात्रै एक सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र एक सय १३ जना उपचाररत छन् ।
यस्तै अमेरिकामा थप सात जनाको र दक्षिण कोरियामा थप ६ जनाको ज्यान गएको छ । मध्य एशियाको काजकिस्तानमा दुई वर्षीया बालिकासहित तीन जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । (एजेन्सी)

Next Post

कोरोना प्रभावित १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

४ चैत्र २०७६, मंगलवार १३:५५
सदरलाइनडटकम, काठमाण्डौ : चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको संक्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन […]