सदरलाइनडटकम,
काठमाण्डौ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ । संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् ।
कोरोनाको संक्रमण रोक्नका लागि तत्काल विश्वका सबै देशले एक भएर काम गर्नुको विकल्प नरहेको उनले स्पष्ट परे । सोचेभन्दा अनौठो खालको भाइरस भएकाले कोरोना विश्वव्यापी कलंकको रुपमा रहन सक्नेतर्फ पनि विश्व स्वास्थ्य संगठनले सचेत गराएको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म ७६ देशमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट तीन हजार एक सय १९ जनाले ज्यान गुमाएका छन् भने ९० हजार तीन सय ३१ जनामा सङ्क्रमण भएको छ ।
त्यस्तै ४८ हजार एक सय ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । गएको २४ घण्टामा चीनमा ३२ र दक्षिण कोरियामा ६ जना गरि ३८ जनाको ज्यान गएको छ भने चीन, दक्षिण कोरिया, अमेरिकामा ६ सय ७ जना नयाँ संक्रमित भेटिएका छन् ।
९० हजार ९ सय ३१ जनामा संक्रमण रहेकोमा चीनमा मात्रै ८० हजार एक सय ५१ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म ज्यान गुमाएका धेरै जना ८० वर्ष उमेर कटेका छन् भने ९ वर्ष उमेरमुनिका कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । (एजेन्सी)