सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकामा शनिवारदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो ।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिएको जानकारी दिए । उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न लागिएको बताए ।
८ वटै वडामा १० गतेसम्म चल्ने शिविरको रनियापुरमा समापन गरिने खजुरा गाउँपालिका नर्सिङ्ग अधिकृत एवं शिविर संयोजक लक्ष्मी केसीले जानकारी दिइन् । उनले गाउँपालिबाट पाउने जेष्ठ नागरिक भत्ताको प्रमाण ल्याएर आएका जेष्ठ नागरिकहरुलाई शिविरमा ब्लड सुगरको जाँचदेखि रक्तचाप र मधुमेहको १५÷१५ दिनमा औषधि दिईने संयोजक केसीले बताईन् ।
उनले शिविरमा मेडिकल डाक्टर २ जना र फिजिशियन डाक्टर १ जना शिविरमा खटिएको बताईन् । पहिलो दिन राधापुर शिविरमा बृद्ध महिला १ सय ७ र बृद्ध पुरुष ४९ गरि १ सय ५६ जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको खजुराका जनस्वास्थ्य अधिकृत पूर्ण खड्काले जानकारी दिए । उनले शिविरमा ३ जना ९० बर्षीया बृद्ध महिलाको समेत स्वास्थ्य परीक्षण गरिएको बताए ।