सदरलाइनडटकम,
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई २२ लाख ८२ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वको टोलीले राति १० बजे अधिकारीको घरमा छापा मार्दा १६ जना जुवाडे र उनीहरुबाट २२ लाख ८२ हजार रुपैयाँ बरामद गरेको हो ।
लामो समयदेखि अधिकारीको घरमा जुवा खेलाईरहेको सूचना पाएको प्रहरीले राति एक्कासी छापा मार्दा जुवाडेहरुले भाग्ने मौका नपाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २८ वर्षीय रबिन्द्र शाही गुड्डुसहित १६ जना रहेका छन् । शाही गोदावरी नगरपालिकाका वडाध्यक्ष हुन् ।
त्यस्तै गोदावरी नगरपालिका १० का २८ वर्षीय सन्देश तामाङ्, वडा नम्बर ३ का ३८ वर्षीय मोहन खड्का, कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ वर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ का ३४ वर्षीय भुवन कुँवर, धनगढी उपमहानगर पालिका ३ मिलचौकका ३८ वर्षीय तिलक अधिकारी, ३७ वर्षीय चन्द्र मणि अधिकारी वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेम राज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल पक्राउ परेका छन् ।
यसैगरी बैतडी दशरथ चन्द नगरपालिका ८ का ३१ वर्षीय अमित गुरु, दशरथ चन्द नपा वडा नम्बर ४ का ३० वर्षीय को सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्बी नगरपालिका १० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका ४ का ३३ वर्षीय जय सिंह धामी, महाकाली नगरपालिका ४ का ३८ वर्षीय मंगल ठगुन्ना पक्राउ परेको प्रहरीले जनाएको छ ।