चिसो बढेसँगै सारिए डोल्पाका प्रहरी चौकी

१५ कार्तिक २०७६, शुक्रबार १४:१८
 

सदरलाइनडटकम,
डोल्पा : चिसो बढेसँगै माथिल्लो डोल्पाका ६ वटा प्रहरी चौकी सदरमुकामस्थित दुनैमा सारिएको छ । माथिल्लो डोल्पाका स्थानीय तहहरु शे फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धोमा रहेका अस्थायी प्रहरी चौकीमा रहेका प्रहरीहरु सदरमुकाम दुनै झरेका हुन् ।
सुरक्षाका लागि रहेका प्रहरीहरु झरेपछि असुरक्षित महसुस गरेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताए । यस क्षेत्रमा रहेका प्रहरी चौकीमा यार्सागुम्बा टिप्ने सिजन (बैशाख–जेठ)मा प्रहरी जाने र असोजको अन्तिमतिर सदरमुकाम दुनै झार्ने गरेका छन् । शे फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, निजाल गुम्बा, राप, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको धो र ताक्सीमा रहेका अस्थायी प्रहरी चौकीहरु सदरमुकाम दुनै झारिसकिएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
माथिल्लो डोल्पाको अत्यन्तै कठ्याङ्ग्रिने चिसो धान्ने बास, बर्दी, सवारी साधन, उपचार सेवा, बिरामी पर्दा छिटो उद्धारको व्यवस्था, चुस्त सञ्चार सुविधा, उच्च हिमाली क्षेत्रमा बस्नका लागि प्रोत्साहन हुने प्रकारको तलव, राशन, दुर्गम भत्ता लगायतका विभिन्न सेवा सुविधाहरु नभएको हिउँदको समयमा चौकी राख्न निकै समस्या रहेको प्रहरीको भनाइ छ । डोल्पामा २० स्थायी र सात अस्थायी गरी २७ वटा प्रहरी युनिट रहेका छन् ।
जसमध्ये माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाका चारवटा र डोल्पोबुद्ध गाउँपालिकाका दुईवटा चौकी रहेका छन् । माथिल्लो डोल्पाकै छार्का ताङसोङ गाउँपालिकाको कागकोट केही हदसम्म तातो हुने भएकाले यस वर्षदेखि हिउँदमा पनि त्यो प्रहरी चौकी रहने प्रहरी नायब उपरीक्षक रञ्जितकारले बताए । विभिन्न अज्ञात समूहहरुको गतिविधि बढिरहेको बेला माथिल्लो डोल्पा सुरक्षा निकायविहीन भएको छ ।

Next Post

छठको आज दोस्रो दिन निर्जल उपवास गरिँदै

१५ कार्तिक २०७६, शुक्रबार १४:१८
सदरलाइनडटकम, नेपालगञ्ज : छठपर्वको दोस्रो दिन शुक्रवार अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । यस दिन बेलुकी […]